नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महान्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि काँग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धी भएको दाबी गर्नुभयो । उहाँले भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्याहरुको पहिचान गरेर अगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विषेश महाधिवेशन बोलाएका हौँ । असन्तुष्टि थिए । म स्मरण गराउन चाहन्छु ? असन्तुष्टि मात्रै थिएनन्, अस्थिरता, द्धन्द्ध र हिंसाको बिचबाट पनि यी सबैको बाबजुद गाउँ गाउँमा सडकहरु पुगेका थिए । सञ्चारको सुविधा पुगेको थियो । चाहे राज्यको क्षेत्रबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट केही न केही प्रगति भएको थियो । नीजि क्षेत्रको व्यापक विस्तारले केही सम्भावनाहरु बढाएको थियो । यो काँग्रेसको नीतिमा भएको थियो र काँग्रेसले नेतृत्व गरेको बेला भएको थियो । सधैं राज्यलाई योगदान दिने तर विभिन्न आन्दोलनको बेला प्रताडना भोग्ने नीजि क्षेत्रलाई पनि आज सम्झिन चाहान्छौँ । भदौ २३ र २४ को घटनालाई अलग अलग रुपमा हेर्नुपर्छ हामी हेर्नेछौँ ।
उहाँले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताउनु भयो ।






