राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमीले रास्वपालगायतका नयाँ दलहरुलाई भीडको संज्ञा दिनुभएको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । नेता सायमीले क्षणिक स्टन्टबाजी, भीडले राम्रो गर्छ भन्ने आशा नगर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले इतिहासले नयाँहरु पुराना भन्दा पनि घातक हुन्छन् भन्ने चेतावनी दिएको उल्लेख गर्दै उनीहरुको भर पर्न नहुने बताउनु भयो । सायमीले आफूहरु विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई ध्यानमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला । नयाँ भन्दैमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरु पुराना भन्दा झनै धेरै खतरनाक हुन सक्छ । भीड सधैं सही हुँदैन । आकर्षक नाराले मुक्ति दिँदैन । हामी भावना, भीडले होइन, स्टन्टले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितको आधारमा निर्णय गर्न यहाँ आएका हौँ ।
नेता सायमीले जनताको मुक्ति आफूहरुको चाहना भएको र त्यो नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने दावी गर्नुभयो ।






