अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालले भन्सारमा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल भन्सार एजेन्ट संघ काठमाडौंको ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर आयोजित कार्यक्रममा बरालले भन्सार प्रशासनमा सुशासनको प्रत्याभूति गर्न पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र सम्भव हुने बताउँदै मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सहि घोषणा हुनुपर्ने बताउनु भयो । उहाँले भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै पक्ष जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो ।
सचिव बरालले भन्नुभयो भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै पक्ष जिम्मेवार रहनुपर्छ । पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सारमा सुशासन कायम गर्न सकिनेछ ।
उहाँले वैध व्यापारलाई सहज बनाउन राज्यका निकायहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनको पहिलो प्राथमिकता व्यापार सहजीकरण रहेको बताउनु भयो । नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विभाग प्रतिवद्ध रहेको बताउँदै भण्डारीले भन्सारमा देखिएका समस्या समाधान गरिने बताउनु भयो ।
महानिर्देशक भण्डारीले भन्नुभयो– ‘भन्सारमा देखिएका समस्या समाधान गरिनेछ । नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिरहेका छौं । प्रशासनलाई आधुनिक तथा प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँं ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले व्यापार सहजीकरण र राजस्व संकलन वृद्धिका लागि भन्सार प्रशासन, निजी क्षेत्र तथा भन्सार एजेन्टबीचको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले वैध व्यापारलाई सहज बनाउन राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले विमानस्थल भन्सार सुधारका लागि भएका पहलहरूबारे जानकारी गराउनु भयो । जनअपेक्षा अनुरूपको कार्यालय बनाउन सबै पक्षले समान जिम्मेवारी वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले त्रिभूवन विमानस्थल भन्सार कार्यालयको सुधार तथा व्यापार सहजीकरणमा तीनै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । भन्सार प्रशासन र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।






