बगैँचा मन्टेश्वरी प्री स्कुलद्वारा आयोजित बगैँचा स्पोर्ट्स मिट २०८२ सम्पन्न भएको छ । यही माघ १८ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्ट्स मिट २०८२ मा मनोरञ्जनात्मक १० खेलका २६ वटा समूहमा ७८९ जना बालबालिकाले सक्रिय सहभागिता जनाएका छन् । विजेता बालबालिकालाई पोखरा महानगरपालिका वडा नं. १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा–१० का वडा सदस्य पूर्ण न्यौपाने र बालविकास विज्ञ प्रभा भुजेल लगायतले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
सो अवसरमा कार्यवाहक वडाध्यक्ष पौडेलले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यसले बालबालिकाको शारीरिक तन्दुरुस्तीमा वृद्धि, मांसपेशीको मजबुत विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै सक्रिय जीवनशैलीको विकासमा मद्दत पुग्ने उहाँले बताउनुभयो ।
यस्तै वडा सदस्य न्यौपानेले बालबालिकामा एकाग्रता, आत्मविश्वास, अनुशासन र निर्णय क्षमता सुधार गर्न खेलकुदले सहयोग पुर्याउने बताउनुभयो । उनीहरूमा सहकार्य, सहिष्णुता, नेतृत्व र मित्रता जस्ता सामाजिक सीपको विकास हुनुका साथै खेलकुदमार्फत बालबालिकाले हार–जितलाई सहज रूपमा स्वीकार गर्न सिक्ने भएकाले भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
बालविकास विज्ञ प्रभा भुजेलले साना बालबालिकाको पठनपाठन र खेलकुद विकासमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकालाई घरमै अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्ने, बालबालिकाको पढाइमा सहयोग र निगरानी गर्ने, शिक्षकसँग समन्वय राख्ने तथा बालबालिकालाई जिज्ञासु र आत्मविश्वासी बनाउने वातावरण निर्माण गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले पढाइ र खेलकुद दुवैमा सन्तुलन कायम गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय मार्गदर्शकका रूपमा रहने बताउनुभयो । स्पोर्ट्स मिटका क्रममा बालबालिकाले प्रस्तुत गरेको अनुशासन, धैर्यता र आत्मविश्वास निकै अनुकरणीय रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयले बालबालिकाको पठनपाठनसँगै उनीहरूलाई सामाजिकीकरण र दैनिक जीवनयापनलाई सरल बनाउने आवश्यक सीपहरूसँग अभ्यस्त बनाइरहेको पनि उहाँले बताउनुभयो ।
स्पोर्ट्स मिटमा बल कलेक्टिङ गेम, फ्रग जम्प गेम, कलर म्याचिङ गेम, स्वीट गेम, चियर एरेन्जिङ गेम, रेडी फर स्कुल गेम, बल ब्यालेन्सिङ गेम, सेप गेम, हिट द टावर, सेक रेस लगायतका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको थियो । समापन समारोहमा बालबालिकाले नृत्य र योगा समेत प्रस्तुत गर्नुभएको थियो ।






