पोखरा युनाइटेड एकेडेमीले ३२ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह विविध कार्यक्रमसहित मनाएको छ।
दुई दिनसम्म भएको कार्यक्रममा यस वर्ष खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी, गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरियो । साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ ।
सो अवसरमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले शैक्षिक प्रदर्शनी प्रस्तुत गरे । प्रत्येक कक्षाले आफ्नै स्टलमार्फत विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनीमा राखेका थिए । कक्षा ११ र १२ का विद्यार्थीले बनाएको ड्रोन विशेष आकर्षणको केन्द्र बनेको थियो ।
यसैगरी, विद्यार्थीले परम्परागत तथा आधुनिक प्रविधिमा आधारित नमुना, घरायसी सामग्री, विद्युतीय उपकरण तथा रिमोटबाट सञ्चालन हुने कारलगायत विविध सृजनात्मक सामग्री प्रस्तुत गरे । विद्यार्थीले नृत्य, गाय तथा विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।
प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेशका प्रमुख सुवास पन्तले विद्यालयको शैक्षिक गुणस्तर विगतका परीक्षाफलले प्रमाणित गरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
अभिभावक नवराज बस्नेतले आफ्ना नानीबाबुले किताबी ज्ञानसँगै समयसापेक्ष तथा व्यावहारिक गतिविधिमा पनि सहभागिता जनाउने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
प्रधानाध्यापक बयानबहादुर गोदारले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै विद्यालयलाई अझ सबल र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने विभिन्न विद्यालयस्तरीय प्रतियोगितामा विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको दाबी गरे ।
विद्यालय अध्यक्ष शिबहादुर भण्डारीको अध्यक्षतामा भएको समारोहमा स्वागत सहायक प्रअ गोविन्द चापागाई र सञ्चालन डिन फणीन्द्रराज पौडेल तथा विद्यार्थीसमेतले संयुक्तरूपमा गरेका थिए।






