पोखरा। नेकपा एमालेका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका बैंन बहादुर अधिकारी क्षेत्रीले आइतबार पोखरा महानगरपालिका २८ का मतदातासँग भेटघाट गरे । चुनावी प्रचारका क्रममा आफ्नो जन्मथलो पुगेका उनलाई स्थानीयले उत्साहजनक र भव्य स्वागत गरे । विभिन्न स्थानमा उनलाई माला र टीका लगाइदिन मतदाताबीच तछाडमछाड नै भएको थियो ।
विगतमा जिल्ला समन्वय समिति कास्कीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनले यसपटक आफ्ना गाउँले मतदाताले भारी मत दिएर जिताउनेमा ठूलो भरोसा व्यक्त गरे । मतदातासँग सामीप्य दर्शाउँदै उनले भने, ‘म यहीँ जन्मे–हुर्किएको मान्छे हुँ । तपाईंहरुकै भान्समा खाएको, सधैँ यहीँ भेटिने र यहीँ काम गरेको मान्छे हुँ । यो हाम्रो गाउँका लागि अर्को अवसर हो । गाउँले मलाई निकै भारी मत दिन्छन् भन्ने विश्वास छ ।’
आफू कुनै राजकीय पदमा नरहँदा पनि गाउँका विद्यालय, सडक र खानेपानी आयोजना निर्माणमा निरन्तर खटिएको उनले सुनाए । वडाभित्रका केही ठाउँमा अझै खानेपानीको समस्या रहेको स्वीकार्दै उनले त्यसलाई समाधान गर्ने प्रतिबद्धता समेत जनाए । पोखराका पूर्वमेयर मान बहादुर जीसीकै पहलमा कालिकासम्म पुग्ने सडक कालोपत्रे भएको कुरा उनले सो क्रममा स्मरण गरे । पोखरा २८ मा एमालेकै सक्रियतामा धेरै सम्झनलायक काम भएको दाबी गर्दै उनले चुनावमा आफूले भारी मत पाउने दाबी गरे । एमालेले सोमबार पोखरा १० मा घरदैलो गर्ने तयारी गरेको छ ।






