पोखरा ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकमा उभिएर पुस्तक बिक्री गरिरहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. महावीर पुनलाई पुस्तक व्यवसायी महासंघमार्फत व्यवस्थित रुपमा बिक्री वितरण गर्न सुझाव दिएका छन् ।
मेयर आचार्यले सडकमा पुस्तक बेच्दा यातायात व्यवस्थापनमा समस्या परेको र कानुनी जटिलता आउन सक्ने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत व्यवस्थित रुपमा बिक्री वितरण गर्न सुझाव दिएका हुन् ।
पुनलाई सम्बोधन गर्दै मेयर आचार्यले उनको देश र समाजप्रतिको समर्पण, सादगीपन र पवित्र उद्देश्यको उच्च सम्मान रहेको बताएका छन् ।फुटपाथमा व्यवसाय गर्ने साना व्यापारीलाई नगर प्रहरीले नियमअनुसार हटाउने गरेको प्रसङ्ग उल्लेख गर्दै आचार्यले नियम सबैका लागि बराबर हुनुपर्ने आशय व्यक्त गरेका छन् । उनले पुनमाथि पनि नियम लागू हुँदा अनावश्यक विवाद हुनु उपयुक्त नहुने बताए । आचार्यले हालसम्म कति पुस्तक बिक्री भयो भन्ने विवरण सार्वजनिक गर्न पनि पुनलाई आग्रह गरेका छन् । विवरण सार्वजनिक गर्न सकिएमा पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरुको पनि सहज जवाफ प्राप्त हुन सक्छ,उनले भने ।
तपाईंको अभियानलाई सहयोग गर्ने भावनाले नै धेरैले उत्साहपूर्वक पुस्तक खरिद गरिरहेका छन्, मेयर आचार्यले भने, ‘तर बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री वितरण गर्नु कानुनी रुपमा जटिल हुन सक्छ । उनले सडकमा पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको र अनावश्यक सवाल जवाफ भएको देखिएको भन्दै यो अवस्था पुन जस्तो सम्मानित व्यक्तित्वलाई नसुहाउने उल्लेख गरे । आचार्यले देशभर करिब १८ हजार पुस्तक व्यवसायी रहेको र उनीहरु राज्यका विभिन्न निकायमा दर्ता भई काम गरिरहेको जानकारी दिएका छन् ।
पुन पोखरा आउने समय दिएमा पुस्तक व्यवसायी महासंघमार्फत सहज र उपयुक्त स्थान उपलब्ध गराई बिक्रीमा सहयोग गर्न सकिने उनले बताए ।
‘अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री वितरण गर्ने हो,’ उनले भने, ’यदि तपाईंको पुस्तकको मौज्दात उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ ।’
आचार्यले पुनको अभियान र उद्देश्यप्रति सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि आफूहरु सदैव तयार रहेको जानकारी दिएका छन् । उनले पुस्तक व्यवसायीसँगको सहकार्यले पुनको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरे । नवप्रवर्तन र अनुसन्धानका लागि आर्थिक स्रोत जुटाउन पुन अहिले देशका विभिन्न सहरमा पुगेर सडकमै पुस्तक बेचिरहेका छन् ।






