काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए ।
‘हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसदले प्रभावकारी भूमिका खेल्नुपर्छ । विसं २०१५ पछि जनताबाट प्राप्त उत्साहसहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद र सरकारको कर्तव्य हो’, उनले भने, म निष्पक्ष र पारदर्शीरूपले सभामुखको कार्यसम्पादन गर्नेछु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसदको नियमावली, संसदीय अभ्याससहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ । म हरेक सांसदको विशेषाधिकारको रक्षकका रूपमा काम गर्नेछु । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसदको अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।






