महानगरपालिकाका विभिन्न क्षेत्रमा ‘अफलाइन’ पठाओ तथा इनड्राइभ चलाएर यात्रुलाई ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन राइड सेयरिङ एपहरूमा आबद्ध भई वा नरही ‘अफलाइन’ मा मोटरसाइकल चलाएर यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, यात्रुहरूलाई अनावश्यक दुःख र हैरानी दिएको व्यापक गुनासो आएपछि मंगलबार बिहान ८ बजे प्रहरीले विशेष अपरेसन चलाएको थियो । वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घर भई हाल पोखरा ९ पृथ्वीचोक बस्ने २६ वर्षीय श्याम काफ्ले र सोही ठाउँका हाल पोखरा ३ नदीपुर बस्ने २५ वर्षीया रेश्मा काफ्ले छन् । त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ घर भई हाल पोखरा–९ नयाँबजार बस्ने ३४ वर्षीय अब्जल मिया, स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–३ नदीपुर बस्ने २५ वर्षीय अमृत सुनार र पोखरा–११ फूलबारीका ३७ वर्षीय सूर्यबहादुर नेपाली पक्राउ परेका छन् ।
स्याङ्जाको भिरकोट नगरपालिका–८ घर भई हाल पोखरा–१४ मझेरीपाटन बस्ने ४४ वर्षीय कृष्णकुमार गहतराज, काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ घर भई हाल पोखरा १७ बिरौटा बस्ने ३० वर्षीय बिक्की लामा र स्याङ्जाको बिरुवा गाउँपालिका–२ घर भई हाल पोखरा–१७ पावरहाउस बस्ने २८ वर्षीय आकाश बिक पनि पक्राउ परेका छन् ।






