पोखरा, ४ असार । पोखरा बसपार्क निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने उद्देश्यले गठन गरिएका दुई विशेष समितिको कार्यावधि थप गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार जग्गा व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि सक्रिय समितिहरूको म्याद असार १७ गतेसम्म कायम गरिएको छ ।
महानगरपालिकाले अध्ययन तथा छानबिनको काम पूरा हुन बाँकी रहेकाले थप १५ कार्यदिन समय प्रदान गरिएको जनाएको छ । यी दुवै समिति गत जेठ १२ गते गठन भएका थिए ।
वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासीको पहिचान गर्न महानगरले विशेष समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा रहेको सुकुम्बासी समस्या सहजीकरण समितिले महानगरमा सुकुम्बासीका रूपमा निवेदन दिएका ५७२ जनाको अवस्थाबारे अध्ययन गरिरहेको छ ।
समितिलाई निवेदकहरूको दाबीको यथार्थता परीक्षण गरी आवश्यक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।बसपार्क निर्माणका लागि करिब पाँच दशकअघि अधिग्रहण गरिएको जग्गासम्बन्धी विवाद समाधान गर्न गठित अर्को समिति पनि सक्रिय रूपमा काम गरिरहेको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकरराज बरालको संयोजकत्वमा ३ सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ । समितिले अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्तिसम्बन्धी उठेका गुनासोहरूको तथ्यपरक अध्ययन गरिरहेको जनाएको छ । समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य तथा प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहेका छन् ।
जग्गाधनीहरूको वास्तविक क्षेत्रफल निर्धारण र वास्तविक सुकुम्बासीहरूको विवरण संकलन भएपछि मात्रै मुआब्जा वितरण तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढाइने बताइएको छ । यसैबीच, जग्गा सिफारिस समितिको कार्यावधि पनि थप १० दिनका लागि बढाइएको छ । केही जग्गाको मोठमा लालपुर्जा कायम रहे पनि प्राविधिक जटिलता देखिएकाले थप अध्ययन आवश्यक परेको जनाइएको छ । प्लट निर्माणको जिम्मेवारी पाएको प्राविधिक समितिको म्यादसमेत १० दिन थप गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
बसपार्क क्षेत्र खाली गराउने प्रक्रिया अब औपचारिक रूपमा सुरु हुने भएको छ। महानगरपालिकाका अनुसार बसपार्कको उत्तरतर्फबाट खाली भएको क्षेत्रलाई चरणबद्ध रूपमा व्यवस्थापन गर्दै अगाडि बढाइनेछ।
हामी सबैको साझा उद्देश्य आधुनिक, व्यवस्थित र सुविधासम्पन्न पोखरा बसपार्क निर्माण गर्नु हो, मेयर धनराज आचार्यले भने, सुकुम्बासी क्षेत्रको उचित व्यवस्थापन र पुनर्स्थापनालाई सुनिश्चित गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको छ। उनले बसपार्क निर्माणसँग सम्बन्धित विषयमा भ्रम फैलाउने र तथ्यहीन सूचना प्रवाह नगर्न सबैलाई आग्रह समेत गरे।
गैर-सुकुम्बासी व्यक्तिहरूबाट हुन सक्ने अनावश्यक हस्तक्षेप रोक्न महानगर सतर्क रहेको उनको भनाइ छ। यस अभियानमा बसपार्क समस्या सहजीकरण समितिसँग महानगरले निरन्तर समन्वय र सहकार्य गरिरहेको बताइएको छ।
करिब पाँच दशकदेखि विभिन्न कारणले अलपत्र परेको पोखरा बसपार्क निर्माणले पछिल्लो समय गति लिन थालेको छ। यसअघि पटकपटक निर्माण प्रयास भए पनि जग्गा विवाद र सुकुम्बासी व्यवस्थापनको समस्याका कारण काम अघि बढ्न सकेको थिएन।
यसपटक भने महानगरले वैज्ञानिक आधारमा जग्गाको वर्गीकरण तथा वास्तविक सुकुम्बासीको पहिचान गरी निर्माण प्रक्रिया अघि बढाउने रणनीति अवलम्बन गरेको छ। पृथ्वीचोकस्थित अधिग्रहण गरिएको जग्गामा व्यवस्थित बसपार्क निर्माणको तयारी भइरहेको महानगरले जनाएको छ। समितिको प्रतिवेदन प्राप्त हुनेबित्तिकै थप भौतिक पूर्वाधार निर्माणका कामहरू अघि बढाइने बताइएको छ।






