पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको जिल्लास्तरीय निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। हिसान कास्कीले गत साउन १७ गते लेखनाथस्थित न्यू लाइट सेकेन्डरी स्कुलमा सञ्चालन गरेको प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो।
कास्कीका विभिन्न विद्यालय तथा कलेजका ९८ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए। विद्यार्थीको सिर्जनात्मक लेखन, भाषिक क्षमता र साहित्यिक अभिरुचि विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीलाई विज्ञान समूह र अन्य समूह गरी दुई भागमा विभाजन गरिएको थियो। दुवै समूहमा नेपाली र अंग्रेजी भाषामा छुट्टाछुट्टै शीर्षक दिएर प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगिताको अंग्रेजी भाषातर्फ विज्ञान समूहमा सगरमाथा सेकेन्डरी स्कुलकी स्नेहा शर्मा प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। त्यस्तै, ग्लोबल कलेजियटका कृस्मा पौडेल द्वितीय, स्टेप बाइ स्टेप सेकेन्डरी स्कुलकी रिविका गुरुङ तृतीय र पोखरा युनाइटेड एकेडेमीका सञ्जाल पौडेल चौथो भएका छन्।
यस्तै, नेपाली भाषातर्फ विज्ञान समूहमा कास्की मोर्डनाइज एकेडेमीकी शिक्षा खड्काले प्रथम स्थान प्राप्त गरेकी छन्। ग्लोबल कलेजियटका आर्य हमाल द्वितीय, जुनियर सिटिजन एकेडेमीकी प्रशंसा गौतम तृतीय तथा शिशु निकेतन सेकेन्डरी इङ्लिस स्कुलकी ओजस्वी पौडेल चौथो स्थानमा रहेकी छन्।
अन्य समूहअन्तर्गत अंग्रेजी भाषातर्फ सिर्जना सेकेन्डरी स्कुलकी रीतिका तिवारी प्रथम भएकी छन्। प्रतिभा सेकेन्डरी स्कुलकी प्रतिज्ञा चौधरी द्वितीय, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलकी जेमिसा क्षेत्री तृतीय र हिल पोइन्ट सेकेन्डरी स्कुलकी यमुना गुरुङ चौथो स्थानमा रहे। बालोदय सेकेन्डरी स्कुलकी मिनुका गुरुङले पनि उत्कृष्ट प्रदर्शन गरिन्।
अन्य समूहकै नेपाली भाषातर्फ कास्की मोर्डनाइज एकेडेमीकी सृष्टि कुँवर प्रथम र गुरुकुल विद्या सदन सेकेन्डरी स्कुलकी बिमला माया मानन्धर द्वितीय भइन्। प्रतिभा सेकेन्डरी स्कुलका विश्वास नेपाली र करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुलकी सृष्टि नेपाली तृतीय स्थानमा रहे। पश्चिमाञ्चल सेकेन्डरी स्कुलका कुबेर पाण्डेले चौथो स्थान हासिल गरे।
प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा पहिचान गर्न महत्वपूर्ण सहयोग पुगेको हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले बताए। उनका अनुसार विद्यार्थीमा सिर्जनात्मक लेखन, भाषिक क्षमता र साहित्यप्रतिको रुचि विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।
अध्यक्ष जैसीले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, विद्यालय, शिक्षक तथा आयोजक टोलीप्रति आभार व्यक्त गरे। उनले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रगतिको शुभकामना दिए।
हिसान कास्कीले विद्यार्थीको शैक्षिक विकाससँगै सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आएको अध्यक्ष जैसीले बताए। उनले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा विकास र प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।





