पोखरा । पोखरा, भरतपुर र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुरमा भएको कार्यक्रममा तीनवटै पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ, निजी क्षेत्र र पर्यटन व्यवसायी सहभागी थिए।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आआफ्ना क्षेत्रका पर्यटकीय सम्भावना, चुनौती र अवसरबारे धारणा राखेका थिए। उनीहरूले तीनवटै नगरपालिकाका पर्यटकीय गन्तव्यलाई आपसमा जोडेर अघि बढ्नुपर्नेमा जोड दिए।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखराको प्राकृतिक सौन्दर्य, तालतलैया, हिमाली दृश्य र साहसिक पर्यटनलाई अन्य गन्तव्यसँग जोडेर प्रवर्द्धन गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने बताए। उनले पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
भरतपुरका कार्यवाहक प्रमुख अधिकारीले चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु अवलोकन, प्राकृतिक सम्पदा तथा धार्मिक र सांस्कृतिक पर्यटनमार्फत भरतपुरको पर्यटन विकास गर्न सकिने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख हरिजनले बौद्ध धर्म, शान्ति, अध्यात्म र ऐतिहासिक सम्पदासँग जोडिएको लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्नुपर्ने बताइन्। तीनवटै पालिकाबीच सहकार्य भए पर्यटकले धार्मिक, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संयुक्त अनुभव लिन सक्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिले संयुक्त प्रचारप्रसार, भ्रमण प्याकेज निर्माण, पर्यटकमैत्री सेवा विस्तार र पूर्वाधार विकासमा जोड दिएका थिए। तीनवटै गन्तव्यलाई समेटेर भ्रमण प्याकेज तयार गर्दा पर्यटकको बसाइ अवधि र खर्च बढ्नुका साथै स्थानीय व्यवसाय तथा रोजगारीका अवसर विस्तार हुने उनीहरूको धारणा थियो।
अन्तरक्रियामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायत तीनवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पर्यटन बोर्डका प्रतिनिधि, निजी क्षेत्र तथा पर्यटन व्यवसायीको सहभागिता थियो। कार्यक्रममा आपसी समन्वय र साझेदारीमार्फत पर्यटन क्षेत्रको दिगो विकास गर्ने विषयमा छलफल गरिएको थियो।





