पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्कुल बसमा चेकजाँच गरेको छ।
सोमबार कार्यालय तथा मातहतका प्रहरी इकाइले आफ्नो कार्यक्षेत्रमा सञ्चालन हुने ४७ ओटा स्कुल बसको जाँच गरेका हुन्।
जाँचका क्रममा कागजपत्र दुरुस्त भएका २५ ओटा सवारीसाधनका चालकलाई सम्झाइबुझाइ गरिएको छ।
नियमविपरीत सञ्चालन भएका २२ वटा स्कुल बसका चालकलाई भने दुई दिनभित्र सवारीको सम्पूर्ण अवस्था सुधार गर्न निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सवारी नियम उल्लंघन गर्नेमाथिको कारबाही र राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जाँच गरिएको प्रहरीले जनाएको छ।
विद्यालयमा अध्ययन गर्ने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै स्कुल बसको नियमित अनुगमन र सवारी नियमको पालना महत्त्वपूर्ण हुन्छ।
प्रहरीले दिएको समयसीमाभित्र सम्बन्धित सवारीसाधनको अवस्था सुधार भए-नभएको अनुगमनले विद्यार्थीको सुरक्षित यात्रामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






