पोखरा । बडादशैँ तथा नवरात्रको चौथो दिन आज बुधबार नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ।
विभिन्न पुराण तथा देवी कवचमा आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापयुक्त संसार जसको उदरमा अवस्थित छ, उनै भगवतीलाई कुष्माण्डा भनिएको उल्लेख छ। भक्तजनका तीनै प्रकारका दुःख नाश हुने विश्वासका साथ उनको आराधना गरिन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको पूजा भइरहेको छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। पोखराको विन्ध्यवासिनी, काठमाडौँका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती र भद्रकालीसहित मनकामना, गढीमाई तथा विन्ध्यवासिनीलगायत शक्तिपीठमा भक्तजन पूजाआराधना र दर्शनका लागि पुगेका छन्।
नवरात्रमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।






