पोखरा । चाडपर्वको समयमा पोखरा आउने पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै झोला तान्ने र दुःख हैरानी दिने पाँच जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले सोमबार पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सर्वसाधारण तथा पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै करकाप गर्ने र झोला तानेर हैरानी दिने गतिविधिमा संलग्न पाँच जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ।
नियन्त्रणमा पर्नेमा चितवनको भरतपुर महानगरपालिका-२ स्थायी ठेगाना भई हाल पोखरा-९ बसपार्क बस्ने २३ वर्षीय रोसन गुरुङ, नवलपुरको देवचुली नगरपालिका-१६ लक्ष्मिमार्गका ३१ वर्षीय सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिका-२३ का २९ वर्षीय सन्दिप बस्नेत, कास्कीको रुपा गाउँपालिका-५ का २४ वर्षीय शंकर सुनार र गोरखाको भीमसेन गाउँपालिका-५ गैरीकुवाका १९ वर्षीय रमेश रिमाल रहेका छन्।
कास्की प्रहरीले चाडपर्वका बेला पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने गतिविधि नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।





