पोखरा । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२६ बुधबार सुरु भएको छ । मुल समारोह समिति गण्डकीको आयोजनामा अभियानको पहिलो दिन स्थानीय शहिदचोकदेखि राष्ट्रबैंकचोकहँुदै बिरौटासम्म सचेतनामूलक प्रभातफेरी निकालिएको हो । लैंगिक हिंसा अन्त्यका लागि एक्याबद्धता, पीडितको संरक्षण, दण्डहीनता अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर ९ देखि २४ गते)सम्म विभिन्न कार्यक्रम गरी सञ्चालन हुने मुल समारोह समिति गण्डकीका संयोजक तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले जानकारी दिइन् ।
सन् १९८१ मा ल्याटिन अमेरिकी देश डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको विश्वव्यापी साझा अभियान अन्तर्गत भएको कार्यक्रममा सरकारी निकाय, नागरिक समाज, महिलाको अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था, मानव अधिकारकर्मीको सहभागिता छ ।
मन्त्री गुरुङले प्रभावकारी अभियान सञ्चालन गरेर घर घरबाट लैंगिक हिंसा अन्त्य गर्नु पर्ने बताइन् । उनले आफूलाई पर्दा उठाउने र अरुलाई पर्दा नउठाउने परिपाटीको अन्त्य हुनु पर्ने चर्चा गरिन् । मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले समाजमा कुनै न कुनै रुपमा हिंसा भएको उल्लेख गरे । ‘लैंगिक हिंसा गंभीर प्रकृतिको मानव अधिकार उल्लंघन हो,उनले भने, ‘समुदायस्तरमा सचेतना बढाएर लैंगिक हिंसाका घटनालाई रोक्न आवश्यक छ ।’ उनले पीडितलाई न्याय र संरक्षण गर्नु पर्ने बताए । उनले पीडकलाई कारवाही गरेर दण्डहीनताको अन्त्य गर्नु पर्ने उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बर्सेनि गर्ने अभियान लैंगिक रुपमा हुने हिंसा रोक्न केन्द्रीत हुनु पर्ने सुझाव दिए । उनले सरोकारवालाको सामुहिक प्रयास र एक्याबद्धतालाई लैंगिक रुपमा हुने हिंसालाई कम गर्न सकिने चर्चा गरे । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत देवी शर्माले सञ्चार प्रविधिको विकाससँगै पछिल्लो अवधिमा लैंगिक रुपमा गरिने हिंसाका स्वरुप फेरिएको बताइन् । विगतमा शारीरिक मानसिक, राजनीतिक, आर्थिक रुपमा महिलामाथि हिंसा हुने गरेको स्मरण गर्दै उनले अहिले डिजिटल हिंसा बढेको चर्चा गरिन् । गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहारीले लैंगिक हिंसा अन्त्य केवल अभियान मात्र नभएर समाज परिवर्तनको साझा संकल्प भएको बताए ।





