पोखरा ।
एयरपोर्ट जान हतारमा थिएँ । ईन्ड्राइभ गरेँ । महिला चालक मलाई लिन आइपुगिन् । एयरपोर्ट पुगेर सामान झार्ने बेला उनले आलाङ्टालाङ गरिन् । मैले पैसा निकालेर उठेको भाँडा दिएँ । उनी पैसा नलिई केही भन्न खोजेझैँ गर्न थालिन् । यात्राको समयमा मान्छेको मन त्यतिकै पनि हतारिरहेको बेला उनले प्वाक्क मुख फोडेर हाँस्दै विनम्रतापूर्वक अलिकति पैसा थपिदिनु न, दिदी भनिन् । एयरपोर्टसम्म लाग्ने रकम फिक्स नै थियो । मैले यति दिन्छु भन्दा उनले हुन्छ भनेर नै राइड स्वीकार गरेर आएकी थिइन् । फेरि यो के को किचकिच! म राजी भएको रकमभन्दा एक रुपैयाँ पनि थपेर उनको हौसला बढाउने र पटकपटक ग्राहकलाई दिक्क बनाउने काममा उक्साउने मतमा थिइनँ । बहिनी, ल यो पैसा राख्नुस् । तपाईंले राइड सर्भिस दिने बेला राजी गरेको रकमभन्दा एक रुपैयाँ पनि कम छैन । मलाई हतार छ, म हिँडे है? यति भनेर म एयरपोर्टभित्र पसेँ । म काठमाडौँ जाँदै थिएँ । त्यहाँबाट अफिसको कामले मलाई फेरि धनगढीको फ्लाइट लिनु थियो ।
चिप्लेढुङ्गाको भीडभाड, शनिबारको दिन, व्यस्त बजार । मेरो हातभरि सामानहरू थिए । ईन्ड्राइभ गरेँ । एकजना पुरुष राइडर आइपुगे । ‘कहाँ जाने तपाईं? भनेर उसले सोध्यो मलाई । मलाई अचम्म लाग्यो । लोकेसन नै नहेरी यो मान्छेले कसरी राइड स्वीकार गर्यो! छोरेपाटन । मैले भनेँ । उसले ‘धेरै भित्र जानुपर्छ? भनेर सोध्यो । जेठ महिनाको चर्को घाम, हातैभरि सामान, घर कहिले पुगेर सामान बिसाउँ भन्ने तीव्र इच्छाले ममा रिसको आवेग आएको मैले थाहा पाएता पनि आफू र हातका सामानलाई सम्हाल्दै बाइकमा बस्दै भनेँ- हो, अलिकति भित्र जानुपर्छ । लोकेसन अन गर्नुस् न है । उसले टाउको हल्लाउँदै बाइक हुईँकायो ।
केही बेरमा बाइक घर अगाडि पुगेर रोकियो । मैले पैसा निकालेर सहमति भएको रकम उनलाई दिन खोजेँ तर उनले पैसा नलिई ‘अलि पैसा थपिदिनु’ भन्यो । मैले आफू र आफ्नो रिस एकैचोटि घर अगाडिको बाटोमा अवतरण गरेको प्रस्टै थाहा पाएँ । ‘होइन, भाइ, यो त भएन नि । तपाईंलाई राइड लिन मन नभएको भए स्वीकार नगरेको भए हुने । मैले एपमा सहमति गरेको रकम नै त दिँदैछु । थप पैसा किन दिने? ईन्ड्राइभ वा कुनै पनि राइड सेयरिङ एपमा छुट्टै कमिसन वा रकम माग्न मिल्ने भन्ने कुनै नियम छ र? कि छ? मान्छे कुन मुडमा हिँडेको हुन्छ, के कामले हिँडेको हुन्छ, किन यस्तो किचकिच?’ मेरो कुरा सुनेर राइडर एकैचोटि च्याँठियो र उसको स्वर पहिलेको भन्दा ठूलो भयो । ‘के किचकिच गर्नु नि, यति भित्रसम्म आउनु पर्ने रैछ । मैले छक्क पर्दै सोधेँ- ‘किन तिमीले राइड स्वीकार गर्ने बेलामा लोकेसन हेरेनौ र?’ त्यो मान्छे झन् ठूल्ठूलो स्वरले कराउन थाल्यो ।
नजिकै नयाँ घर बन्दै थियो । त्यहाँ काम गरिरहेका कामदारहरू कामै छोडेर वाल्ल परेर हेर्न थाले । मलाई असहज महसुस भयो तर आज यति त भन्नै पर्छ जस्तो मलाई लाग्यो । ‘ल, यो पैसा एपमा उठेको रकमभन्दा एक रुपैयाँ पनि कम छैन । मैले हातमा भएको पैसा देखाउँदै कड्केर भनेँ । ‘तपाईंको पैसा चाहिँदैन । भयो भयो, म जान्छु । उसले रिसाउँदै भन्यो । मैले ल ठीक छ भनेर पैसा फिर्ता लिई गोजीमा राखेर हिँडेँ । त्यसपछि त्यो मान्छे तपाईंबाट तँमा उत्रियो र नानाभाँति मुख छाड्दै म, मा, मु जस्ता अपशब्दहरू प्रयोग गर्न थाल्यो । म निकै अगाडिसम्म पुगिसकेको मान्छे टक्क रोकिएँ र फर्किएर अघिको पैसा उसको बाइकको अघिल्तिरको भागमा राखिदिँदै ‘मुख चाहिँ नछाड् है, भाइ, ल यो पैसा लिएर आफ्नो बाटो लागिहाल् । भनेर मैले आँखा ठूल्ठूलो बनाएर कराएँ । त्यति पैसा लिएर त्यो राइडर फत्फताउँदै, फत्फताउँदै गयो ।
घर पुगेँ । सामानभन्दा ठूलो अपमान र रिसको भार बोकेर कोठामा पुगी सोफामा थचक्क बसेँ ।
यसरी नानाभाँति गाली गर्ने, मनपरी बोल्ने, प्यासेन्जरसँग मनपरी भाँडा माग्ने राइडरलाई के गर्ने? ईन्ड्राइभमा यो कुरा कसले थाहा पाउनु पर्ने हो मलाई केही थाहा भएन । ईन्ड्राइभको अनलाइन पेज खोजेँ । त्यहाँको फिडब्याक खण्डमा ‘योर राइडर्स युज अब्युसिभ ल्याङ्वेज एन्ड आस्क फर एक्स्ट्रा अमाउन्ट फ्रम द एग्रिड अमाउन्ट अपन रिचिङ लोकेसन ।’ लेखेर सेन्ड बटन थिचेँ । रिस कम भएता पनि मलाई बिना कारण किन अरूबाट मैले अपशब्द झेल्नु पर्यो भन्ने भावनाले अबेरसम्म सताइरह्यो । त्यो दिन मेरो साह्रै नराम्रो गयो ।
मैले पठाएको फिडब्याकमा आजसम्म ईन्ड्राइभको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।
म आजकल हिँड्छु, कि त सार्वजनिक सवारी साधन प्रयोग गर्छु ।





