पोखरा ।
पोखरा महानगर वडा नं ६ बैदामका महिलाहरुले विभिन्न रचनात्मक कार्यमा ध्यान दिन थालेका छन् । शुक्रबार पोखरा ६ लाई समुन्नत बनाउन स्थानीय आमा समूहको भूमिकामा विषयक वक्तृत्वकला प्रतियोगितामा यस्तो धारणा सार्वजनिक गरेका हुन । पोखरामा सम्पन्न भएको उक्त कार्यक्रम महिला सञ्जालको आयोजनामा भएको थियो । सञ्जालका अध्यक्ष बबिता मल्लको संयोजकत्वमा भएको उक्त प्रतियोगितामा महिलाहरुले समुदायको विकास र समग्र नारी विकासको बृहद् योगदान दिएको चर्चा गरिएको थियो । स्थानीय सरकारमा महिलाको सक्रिय सहभागितालाई प्रोत्साहन गरेको कार्यक्रम अन्नपूर्ण आमा समूहले संयोजन गरेको संयोजक रेणु लामिछानेले जानकारी दिइन् । पोखरा ६ का सक्रिय महिलाहरुको वडामा एकता र दृढतालाई थप उजागर गराएको आयोजकको भनाई छ ।
पोखरा महानगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा भएको कार्यक्रममा सम्वोधन गर्दै वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले आधुनिक युगमा महिलाको सक्रियता नहुँदा सिंगो देश कमजोर हुने बताए । कार्यक्रममा वडा सदस्य दिपेन्द्र पहारी, शोभा जलारी र पवित्रा थापाले सहभागी महिलालाई थप सक्रियता जनाउन आग्रह गरेका थिए । क्रिस्टल महल अम्बोटमा भएको वक्तृत्वकला प्रतियोगतामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले १८ हजार ५ सय बराबरको स्पिकर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा द्वितीय हुनेले १४ हजार ५ सय, तृतीय हुने समुहले ११ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् भने सान्त्वना हुने समुहले रु १० हजार वरावरको स्पिकर हात पारेका थिए ।
प्रतियोगितामा सञ्जीवनी आमा समुहका शोभा पाण्डे प्रथम, अन्नपूर्ण आमा समुहका चन्द्रा रानाभाट द्वितीय, मितेरी आमा समूहका मीरा पौडेल तृतीय र धादिङ त्रिपुरा आमा समूहका रचना अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताले महिलाहरुको भूमिका र योगदानलाई प्रोत्साहन गर्न महत्वपूर्ण मञ्च प्रदान गरेको छ । प्रतिस्पर्धीहरुले आफ्ना विचार प्रस्तुत गर्दै आमा समूहको योगदानलाई थप प्रभावकारी बनाउन सुझावहरू दिएका थिए ।





