पोखरा । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमयले मुद्रण व्यवसाय धराशय बन्दै गएको भन्दै यसलाई जोगाउन व्यवसायी नै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
मुद्रण संघ कास्कीको १५औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रविधिको विकाससँगै पेपरलेस सुरु भइसकेको भन्दै उनले अब अफिसियल प्रिन्टिङका काम, विलविजक अधिकांश संस्थाले पेपर चलाउन बन्द छाडेका र डिजिटल प्रविधि प्रयोग गरेको बताए ।
‘अब यसको प्रभाव विस्तारै प्रिन्टिङ व्यवसायमा परेको छ, केही वर्षपछि मुद्रण व्यवसाय सञ्चालनमा ठूलो चुनौती थपिने छ, त्यसैले व्यवसायीका हक हितका लागि एकजुट भएर मूल्य निर्धारण गरेर मात्र काम गर्नुपर्ने अवस्था आएको छ’, उनले भने ।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले मुद्रण व्यवसायी र मुद्रण पेशाको संरक्षण र संवद्र्धनमा लागेका संस्था बीचको दूरी विस्तारै बढ्दै गएको देख्दा आफूलाई दुःख लागेको बताए ।
“हामी काम गर्न तयार छौँ, जिम्मेवारी बहन गर्न कुनै चुनौती देखेका छैनौँ, कम्तीमा तपाईंहरुले हामी साथमा छाैँ भन्ने आभास त दिनुस्, सुतेकोलाई उठाउने हो, बाहना पारेकालाई उठाउन सकिँदैन, यति बुझ्नुस्”, उनले भने ।
‘मुद्रण व्यवसाय दिनानुदिन धराशय बन्दै गएको छ, साथीहरु व्यवसायबाट पलायन भइरहेका छन्, हामीलाई दुःख लागेको छ, अब नयाँ योजनासहित काम गर्नुपर्ने थप चुनौती सिर्जना भएको छ, त्यसैले सबैले साथीहरुलाई आफ्ना गुनासा सुनाउनुस् मिलेर अघि बढौँ’, अध्यक्ष बास्तोलाले थपे ।
संघका केन्द्रीय सदस्य कोपिला श्रेष्ठले कास्की जिल्ला भित्र मुद्रण व्यवसायमा मजदुरी गर्नेका लागि सहयोग गर्ने उद्देश्यका साथ “किरण स्मृति अक्षयकोष” को स्थापना गरिएको जानकारी दिएन् ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय निवर्तमान उपाध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण उद्योग संघ कास्कीको स्थापनाकालीन अवस्थाको बारेमा जानकारी गराएका थिए ।
उनले मुद्रण उद्योग संघ कास्की केन्द्र भन्दा पनि पहिला स्थापना भएको जेठो संस्था रहेको भन्दै संस्थापकले १ः१ को आधारमा मतदान गर्ने
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य वसन्त बास्तोला, निवर्तमान केन्द्रीय सचिव एवं संस्थापक जीवन गोर्खाली, महासंघ गण्डकी प्रदेश अध्यक्ष मनोहर दाहाल, कास्कीका सल्लाहकार कृष्णराज ढुंगानालगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमिति र मुद्रण उद्योग संघ कास्कीका संस्थापकलाई कास्की शाखाले बधाईसहित लोगो अंकित पिन प्रदान गरेका थिए ।
संघका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पदम श्रेष्ठले गरेका थिए ।






