पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।
साथै गण्डकी प्रदेशको राजधानी शहर पोखरामा आज मौमम खुल्न सकेको छैन, आकाशमा बादल लागेको छ । पाेखरामा बुधबारको तुलनामा आज आज बिहीबार बिहान बढी चिसो महसुस गरिएको छ । तर पाेखरामा आज वर्षा सम्भावना नभएकाे बताइन्छ । पाेखरामा लामाे समयदेखि वर्षा भएकाे छैन ।
बुधबार बिहान करिब ८ बजे १० डिग्री सेल्सियस रहेको पोखराको तापक्रम आज बिहान ७ः४५ बजे ८ डिग्री सेल्सियस छ । आज पोखरामा अधिकतम् तापक्रम २० डिग्री र न्यूनतम् तापक्रम ७ डिग्रीमा झर्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ ।
यस्तै राति हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका हल्का हिमपातको सम्भावना छ ।
त्यसैले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






