पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् ।
बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागि हुँदै घिसिङले यस्तो बताएका हुन् ।
उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको जानकारी गराए ।
उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए । घिसिङले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गर्दै मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्यालीले अभियानलाई ठूलो सहयोग पुगेको स्पष्ट पारे ।
पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको भन्दै उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने जिकिर गरे ।
देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचना बनाउन जरुरी रहेको उल्लेख गर्दै घिसिङले विद्युतीय चार्जिङ स्टेशन मुलुकभर बनाउन जरुरी रहेको बताए ।
सरकारले निजी क्षेत्रले ठूलो सहुलीयतसहित प्रोत्साहन गरेको भन्दै ट सय बढी चार्जिङ स्टेशन निजी क्षेत्रले मात्रै बनाएको उनले बताए ।
उनले भने, ‘इलेक्ट्रिकल भेकलमा ट्रान्सपोटेसन भएको छ, यो ठूलो परिवर्तन हो, पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ, विद्युतको माग बढाउने अभियान हो, अभियानलाई ठूलो सहयोग पुगेको छ ।’
‘७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको छ, विद्युतीय सवारी साधनको प्रामोसन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन, देशभर विद्युतीय सवारी साधनका लागि आवश्यक संरचना बनाउन जरुरी छ, जसमा विद्युतीय चार्जिङ स्टेशन बनाउन जरुरी छ’, उनले थपे ।
उनले भने, ‘निजी क्षेत्रलाई हामीले सहुलीयतसहित प्रोत्साहन गरेका छौँ, अहिले छ सय बढी चार्जिङ स्टेशन निजी क्षेत्रले मात्रै बनाएको छ, अझै देशभर बनाउन आवश्यक छ, अहिले निजी क्षेत्रबाट पाँच सय चार्जिङ स्टेशनका लागि आवदेन आएको छ, यसले रोजगारी पनि सिर्जना गरेको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए ।
उनले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे । उनले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।






