पोखरा । नेपाली महिला राष्ट्रिय खोखो टोली विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९-१८ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।
महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०-१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।
यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३-८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
यता पुरुषतर्फ नेपाली टोली सेमिफाइनलमा पुगेको छ । नेपाली पुरुष टिमले बंगलादेशलाई ६७-१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सेमिफाइनलमा नेपाली पुरुष टिमले इरानसँग खेल्ने छ ।






