पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ गामीछाक्रामा १०औँ गामीछाक्रा कप हुँदैछ । गामी छाक्रा युवा क्लबको आयोजनामा यही माघ १८ देखि सुरु हुने प्रतियोगिता २३ गतेसम्म सम्पन्न हुनेछ ।
‘विकास अनुशासन गतिशीलता युवाहरूको सक्रियता आजको आवश्यकता’ मूल नाराका प्रतियोगिता हुना लागेको हो । प्रतियोगितामा विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।
प्रतियोगितामा साविक वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने संस्थाका सचिव शिखर कार्कीले जानकारी दिए ।
पुरुषतर्फ प्रतियोगिता विजेताले ४५ हजार रुपैयाँ, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गर्नेछन् ।
यस्तै, महिलातर्फ विजेताले २०, उपविजेताले १२ तथा तेस्रो हुने आठ हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गर्ने क्लब अध्यक्ष ज्ञामबहादुर परियारले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेस्ट प्लेयर अवार्डसमेत प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुने टिमले माघ १७ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।
प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ ।
प्रतियोगिताको सहआयोजकमा गामीछाक्रा टोल विकास संस्था, गामीछाँक्रा आमा समूह र जनजागृति युवा क्लब रहेको सचिव कार्कीले जानकारी दिए ।






