पोखरा । कास्कीको धम्पुसमा तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिका वडा नं ७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगितामा आयोजना गरिएको र बढीभन्दा बढी टिम सहभागी गराइने माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख रहेको छ भने सेमिफाइनलमा उपविजेता दुई टिमलाई ५०/५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
यसैगरी महिलातर्फ प्रथम पुरस्कार एक लाख र द्वितीय पुरस्कार ५० हजार तथा सेमिफाइनल पुगेका दुई टिमलाई २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका लागि गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागी टिमले दुई जना बाहिरी खेलाडी राख्ने पाउनेछन् ।
‘यो प्रतियोगितामा दुई जना बाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जनाउनेछन्’, अध्यक्ष गुरुङले भने, ‘राष्ट्रिय खेलाडीको सहभागिता हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौँ ।’
यस वर्षदेखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बढी रौनकता थपिने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
‘धम्पुस परिचित एक पर्यटन गाउँ हो’, उपाध्यक्ष अधिकारीले भनिन्, ‘पर्यटकी गाउँमा गरिएको यो प्रतियोगिताले पर्यटनसँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौँ ।’
माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको बताए ।
उनका अनुसार एक रातमा धम्पुस साना ठूला ४० होटलमा एक हजार जनासम्म राख्न सकिन्छ ।
प्रतियोगितामा टिम दर्ता निशुल्क गरिने माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका भलिवल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशभित्रका पालिकामा पत्राचार भए पनि खेलाडीलाई जानकारी नहुँदा प्रतियोगितामा सहभागी कम हुने गरेको गुनासो खेलाडी बाटै आउने गरेको बताए ।






