पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयमा सोमबार दन्तशिविर सम्पन्न भएको छ ।
शिविरमा करिब आठ सय विद्यार्थीको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ ।
पोखराको रानीपौवास्थित अर्किड डेन्टल एण्ड अर्थोपेडिक सेन्टरको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार दाँत परीक्षणका क्रममा निकाल्नुपर्ने विद्यार्थीका दाँत निकालिएको र औषधिसमेत प्रदान गरिएको थियो ।

अर्किडका डा. हिमशीला श्रेष्ठ, डा. लक्ष्मी पौडेल र डा. ईच्छा ताम्राकारले विद्यार्थीको दाँत परीक्षण गर्नुका साथै आवश्यक परामर्श दिएका दिए ।
विद्यालयले आइतबार अभिभावक लक्षित गरी माई सेकेण्ड टिचर एप्स शुभारम्भ गरेको थियो । यो एपमार्फत अभिभावकले घरमै बसेर मोवाइलमा विद्यालय र आफ्ना बाबुनानीका गतिविधि अवलोकन गर्न पाउनेछन् ।
२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।







