पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविमा वसन्तपञ्चमीको अवसरमा सरस्वती पूजा, अक्षरारम्भ कार्यक्रम र विद्यार्थी भर्ना भएको छ ।
शिशु कक्षामा सोमबार एकै दिन ६० विद्यार्थी भर्ना भएको विद्यालयका प्राचार्य बाबुराम बरालले जानकारी दिए ।
सो अवसरमा प्राचार्य बराल, सहभागी शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावक सरस्वती पूजामा सहभागी भएका थिए । कार्यक्रममा करिब सात सय विद्यार्थी सहभागी भएको प्राचार्य बरालले जानकारी दिए ।
कार्यक्रममा प्राचार्य बरालले विद्याकी प्रतिमूर्ति सरस्वती पूजाका बारेमा प्रकाश पारेका थिए ।
विद्यालयमा केही दिन अघिमात्र अभिभावक भेला सम्पन्न भएको थियो । कार्यक्रममा २०८० को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
साे कार्यक्रममा विद्यार्थीले स्वागत गीत तथा नृत्य, बाल गीत, चलचित्रका गीत, स्लो प्रस्तुति, जुम्वा नृत्यलगायतका सांगीतिक र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै विद्यार्थीले विभिन्न जातजातिका भेषभूषा प्रदर्शनसमेत गरेका थिए ।
२०५२ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।






