पोखरा । पोखरा महागरपालिका वडा नं ६ स्थित बगैँचा टोल विकास संस्थालाई डष्टविन र कम्पोष्ट मल विन प्रदान गरिएको छ ।
कोइका र युएनडीपीको सहयोगमा ६०/६० थान सो सामग्री प्रदान गरिएको हो । सो अवसरमा मल बनाउनका लागि आवश्यक केमिकलसमेत प्रदान गरिएको थियो ।
पोखरा महानगरपालिकाको आयोजना तथा ग्रीन वेष्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थालाई सो सामग्री प्रदान गरिएको हो ।
ग्रिन वेष्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोष्ट मल बनाउने तरिका र दिगो फोहर व्यवस्थापनका बारेमा टोल विकास संस्थाका सदस्यलाई सिकाएका थिए । प्रशिक्षक घिमिरेले पाेखराका ३३ वटै वडाका सक्रिय टोल विकासलाई सहयोग गरिने बताए ।
पोखरा महानगरपालिका वडा नं ६ स्थित टोल विकास संस्थामध्ये सक्रिय पाँच वटा संस्थालाई प्रदान गर्ने योजना अनुसार बगैँचा टोल विकासलाई प्रदान गरिएको वडासदस्य वासु बरालले बताए ।
संस्थाकी अध्यक्ष मीना ढकालले सदस्यका लागि विभिन्न कार्यक्रम ल्याउने गरेको बताइन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार नेत्र भण्डारीले डष्टविन वितरणसँगै टोल सफा हुने दावी गरे ।
अन्नपूर्ण आमा समूहकी अध्यक्ष रेणु लामिछानेले घरबाट निस्कने फोहरलाई कम्पोष्ट मल बनाई आयआर्यजनको स्रोत बनाउनुपर्ने बताइन् ।






