पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कास्की इञ्चार्जको जिम्मेवारी पर्वतका नेत्रनाथ अधिकारीलाई सुम्पिएको छ । माघ २१ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले कास्की इञ्चार्जको जिम्मेवारी अधिकारीलाई सुम्पिएको हो । अधिकारी गण्डकी प्रदेशसभाका पूर्व सभामुख हुन् ।
कास्कीमा नेताहरुबीच मतभेद रहेको र एकले अर्का नेताले अस्तित्व स्वीकार नगर्ने परिस्थितिका कारण पर्वतका अधिकारीलाई इञ्चार्जको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।
कास्कीमा यसअघि झलकपाणि तिवारी, रामजी बराल, दीपक कोइराला र राजकाजी गुरुङ करणले इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए ।
गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी पूर्वशिक्षामन्त्री समेत रहेका दिननाथ शर्मा र सहइञ्चार्जको जिम्मेवारी नेता हरिराज अधिकारीले पाएका छन् ।
यसैगरी गोरखामा अमरबहादुर तमु, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, स्याङ्जामा शैलेन्द्र घिमिरे, मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र नवलपरासी (पूर्व) मा धनप्रसाद सापकोटालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोका निष्कृय तथा केशव कुँवर वैदेशिक रोजगारीमा रहेकोले उनीहरुलाई पदमुक्त गरिएको बताइएको छ ।
साथै म्याग्दीका रेशमबहादुर जुग्जाली मगर, बाग्लुङका धनबहादुर विक र तनहुँका मदन आलेलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको परिपत्रमा उल्लेख छ ।
आइतबार सार्जजनिक परिपत्र अनुसार संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रका इञ्चार्जको कार्य विभाजन सम्बन्धित समन्वय कार्यालयले गर्नेछ ।
स्थानीय पालिकाका इञ्चार्जको कार्य विभाजन समन्वय कार्यालयले गर्ने छ । साथै जनवर्गीय संगठन, मोर्चा, विभाग लगायतका क्षेत्रमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यको कार्य विभाजन पनि सोही समन्वय कार्यालयले गर्ने छ ।
विद्यार्थी संगठनको नेतृत्वमा उपाध्यक्ष तथा महासचिवसम्म रही बिदा भएकालाई पार्टीको केन्द्रीय प्रतिनिधि मनोनयन गरी सम्बन्धित प्रदेश र विभागमा खटाइएको बताइएको छ ।
विद्यार्थी संगठनबाट बिदाइ भएका अन्य पदाधिकारीलाई सम्बन्धित प्रदेश समिति वा प्रदेशका विभिन्न तहमा समावेशी गरी समन्वय कार्यालयले कार्य विभाजन गर्ने बताइन्छ ।






