पोखरा । एक सातादेखि रोकिएको पोखरा महानगरको फोहोर आजबाट उठ्न थालेको छ । पोखराबाट दैनिक एक सय टन फोहोर संकलन हुने गर्दछ भने छ वडा कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् ।
तर एक सातासम्म फोहोर नउठेपछि बजारका मुख्य सडकका ठाउँ-ठाउँमा फोहोरका थुप्रा देखिन्छन् । यसप्रति गैह्रजिम्मेवार महानगरपालिका, कर्तव्यहीन नागरिक भएको भन्दै आलोचनासमेत भएको छ ।
बुधबार मेयर धनराज आचार्यको उपस्थितिमा पोखरा ३२ लामेआहालका स्थानीय र महानगपालिका बीच १५ दिनभित्र माग पूरा गर्ने सहमति भएपछि आजबाट फोहोर उठ्न थालेको हो ।
लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन हुँदै आएको थियो । सम्झौता अवधि सकिएपछि स्थानीयले फोहोर फाल्न रोकेका थिए ।
महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार पोखरा-३२ मा सामाजिक, पूर्वाधार विकास, वातावरण र विपद् व्यवस्थापनका क्षेत्रमा देखिएका सवाल तथा समस्यालाई महानगरपालिकाको आगामी कार्यपालिका/नगरसभामा छलफल गरी सम्बोधन गरिने भएको छ ।

लामेआहाल क्षेत्रमा सरसफाई, विकास निर्माणबारे महानगरपालिकाले प्रतिवद्धता जनाएर पनि काम नभएको भन्दै स्थानीयको गुनासो छ ।
महानगरपालिकाले यसअघि पोखरा-१४ को बाच्छेबुडुवामा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो ।
पोखरा महानगरले पोखरा-३३ को पुँडीटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउने निर्णय गरे पनि स्थानीयको विरोधका कारण निर्णय कार्यान्वयन हुन सकेको छैन ।
महानगर प्रमुख आचार्यले चुनावी घोषणापत्रमा टिकट काटेर हेर्न मिल्ने ल्याडफिल साइट बनाउने उल्लेख गरेका थिए । तर उनको यो घोषणा घोषणापत्रमै सीमित बन्न पुगेको छ ।






