पोखरा । हिमालय एयरलाइन्सले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने भएको छ । नेपालको पर्यटन राजधानी पोखरालाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको एयरलाइन्सले जनाएको छ ।
आगामी मार्चदेखि साप्ताहिक उडान सुरु हुने भएकाले हिमालय एयरलाइन्ससँग उड्न तयार हुन र अपडेटका लागि प्रतीक्षा गर्न कम्पनीले आग्रह गरेको छ ।
यता पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताए ।
उनले फेसबुकमा लेखेका छन्, ‘चिनियाँ सरकारले आफ्ना नागरिकका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्वपूर्ण कदम हो ।’
यस अवसरलाई पर्यटन प्रवर्द्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायी, सरोकारवाला तथा सम्पूर्ण पोखरेलीलाई उनले आग्रह गरे ।
अब उत्तरी छिमेकमा औपचारिक उडान सुरु भएको र दक्षिणतर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् ।
यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । यसअघि विभिन्न वायुसेवाले यो विमानस्थलमा चार्टर्ड उडान गरेका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको लामो समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा आलोचना हुँदै आएको छ ।
विमानस्थलबाट छिटपुटबाहेक आन्तरिक उडानमात्र हुँदै आएका छन् ।
हिमालय एयरले गर्न लागेकाे यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ






