पोखरा । जनकपुरबाट पाङ्ग्रा बिना नै उडेको बुद्ध एयरको एउटा विमान काठमाडौँमा सकुशल अवतरण भएको छ ।
बिहीबार जनकपुरबाट काठमाडौँका लागि उडेको विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, “एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।”
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन-ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए ।
“जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने ।






