पोखरा । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं लोकप्रिय मतसहित विजयी भएका छन् । खसेको चार सय ७० मतमध्ये चार सय ५२ मत सदर हुँदा चम्लागाईं एक्लैले तीन सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी विकास थापाले ८८ मत ल्याउँदा कल्पना खड्काले १३ मतमात्रै ल्याइन् ।
मतदाता माँझ लोकप्रिय चम्लागाईं अपाङ्गता भएकाहरुको हकहितका लागि शुरुआतदेखि नै लड्दै आएका छन् । सञ्चारकर्मीसमेत रहेका उनले सञ्चारकर्मका क्षेत्रबाटसमेत अपाङ्गता भएकाहरुको हकहितमा लड्दै आए ।
सो क्रममा उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका पनि केन्द्रीय सदस्य रहे । युवा कांग्रेसमा लोकप्रिय देखिएका उनी कांग्रेसको १४औँ महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेदवारसमेत हुन् ।
चम्लागाईंले संविधानको हकको प्रयोग गर्दै अपाङ्गता भएका दृष्टिविहीनले पनि सगरमाथा आरोहण गर्न पाउनु पर्छ भन्ने माग राखेर मुद्दा हालेसँगै मुद्दा जितेर दृष्टिविहीनलाई सगरमाथा पुर्याउन ठूलो योगदान दिए ।
उनले संविधानमा अपाङ्गता भएकाको हकहितका लागि बुँदाहरु समेट्न अहम् भूमिका खेलेका थिए । अपाङ्ग संघको अध्यक्ष भएपछि नै उनले आफूले निरन्तर अपाङ्गता भएकाहरुको हकहितका लागि अझ सशक्त भएर लड्न उत्प्रेरणा मिलेको बताएका छन् ।
उनी अहिलेसम्म छायाँमा रहेर काम गर्दै आए पनि अब भने पदीय रुपले नै जिम्मेवारीमा आएका छन् ।
यसअघि शनिबार राति ८ बजे सकिएको मतदानको मतगणना बिना कारण रोकिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणना गर्न निर्देशन दिएसँगै सोमबार बिहान मतगणना थालिएको थियो ।
निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला-खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ । बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।
यसमध्ये गण्डकी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् ।
खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भैसकेका थिए भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेका हुन् ।
आठ सय ९२ मतदातामध्ये चार सय ७० मत खसेको थियो । मतदानलाई असर पार्न र मतदातालाई प्रभावित गर्न कतिपय जिम्मेवार संघका नेताहरुले आफ्नै पार्टीको बीपी स्मृति भवनमै भौतिक संरचना तोडफोड गर्न उत्रेका थिए ।






