पोखरा । कास्कीमा ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने नाराका साथ हुने सहकारी दिवस मनाउन साताव्यापी कार्यक्रम तय गरिएको छ ।
जसअनुसार १४ देखि २० चैतसम्म विभिन्न कार्यक्रम हुने जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष एवं सहकारी दिवस मूल समारोह समिति संयोजक दीपकप्रसाद बास्तोलाले जानकारी दिए ।
अध्यक्ष बास्तोलाका अनुसार चैत १५ र १६ गते बुद्धिचाल प्रतियोगिता हुनेछ । चैत १६ गते नै निबन्ध प्रतियोगिता हुनेछ ।
यस्तै चैत १७ गते बिहान साइकल र्याली निकालिने छ । सहिदचोकस्थित जिल्ला सहकारी संघ परिसरबाट र्याली निस्कने संघका अध्यक्ष एवं दीपकप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार १८ गते रक्तदान कार्यक्रम हुनेछ । सो कार्यक्रम संघ परिसरमै हुनेछ ।
१९ गते जिल्लाका सम्पूर्ण सहकारी संघ संस्थाको कार्यालय परिसर, मठमन्दिर तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम तय गरिएको छ । सोही दिन पूर्वान्ह होटल दीपसागरमा सहकारीबारे अन्तरक्रिया हुनेछ ।
यसैगरी २० चैतमा सहकारीका उत्पादनको प्रदर्शनी र साँझ दीपावली कार्यक्रम हुनेछ । दीपावली मानवअधिकार चोकमा हुने मूल समारोह समिति संयोजक बास्तोलाले जानकारी दिए । दिवसका लागि सात सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
संघका पूर्व अध्यक्ष एवं पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले सहकारी दिवसले सहकारी क्षेत्रमा देखिएको निराशा चिर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले सहकारीमा समस्या आउँदा ऋणिले तिर्नुपर्दैन भन्ने भावना राख्दासमेत सहकारी थप समस्यामा परेको बताए । उनले सहकारीमा विद्यमान समस्या समाधानका लागि मेलमिलापको बाटो अपनाउँदा सहज हुने सुझाव दिए ।
जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपकप्रकाश आचार्यले दिवसलाई भव्य बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।
अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव आचार्यले गरेका थिए ।






