पोखरा । पोखराको थ्रीस्टार टिचर एजुकेशन सेन्टर (टीएसटीइसी) ले गुणस्तरीय प्रारम्भिक बाल शिक्षा (इसीइसी) प्रवर्द्धनका लागि पहिलो पटक स्याङ्जामा सहकार्य गरेको छ ।
टीएसटीइसीले इसीइसीका लागि स्याङ्जाको प्रगति नगरस्थित ज्योति इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलसँग सहकार्य गरेको हो ।
यो सहकार्यसँगै बालमैत्री सिकाइ वातावरणको प्रवर्द्धन, खेल-आधारित सिकाइको प्रभावकारी कार्यान्वयन, नवीनतम् शिक्षण विधिको विकास, शिक्षक र अभिभावकका लागि विशेषज्ञ प्रशिक्षण कार्यक्रमका साथै सिकाइलाई अझ अर्थपूर्ण, संवादात्मक र प्रभावकारी बनाउने मद्दत पुग्ने थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजुलीले बताए ।
प्रारम्भिक बाल शिक्षालाई थप सशक्त पार्दै बालबालिकाको दीर्घकालीन सिकाइका लागि मजबुत आधार तयार गर्नेसमेत पराजुलीको विश्वास छ ।
बालमैत्री, आकर्षक र बालकेन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्यलाई साकार पार्न टीएसटीइसी प्रतिबद्ध रहेको भन्दै उनले यसलाई विस्तार गर्दै स्याङ्जाका अन्य विद्यालयसँग पनि सहकार्य गरिने बताए ।






