पोखरा । आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले इद उल फित्र मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ । इद उल फित्रका अवसरमा सरकारले आजका लागि सार्वजनिक बिदा दिएको छ ।
इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ । उपवास ईद उल फित्रसँगै समाप्त हुन्छ। इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।
रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्नुहुन्छ भन्ने इस्लामिक मान्यता छ ।
इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो। मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो। यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए। यो जितको खुसीमा उनले सबैको मुख मीठो बनाएका थिए । यो दिनलाई मेथी ईदी वा ईद उल फित्रको रूपमा मनाइन्छ।
यस दिन भर्मीसेली, मिठाई जस्ता मीठो परिकार बनाइन्छ। घरमा आएका पाहुनालाई मीठो सेरा खुवाइन्छ । इदी साथीभाइ र आफन्तहरूमा बाँडिन्छ। मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईद मुबारकको शुभकामना दिन्छन् । इद उल फित्रलाई परोपकारको पर्व पनि भनिन्छ ।
ईदको अवसरमा मुस्लिम धर्मावलम्बले बिहान नयाँ लुगा लगाएर नमाज अदा गर्छन् । त्यसपछि आफ्ना साथीहरू र परिवारका सदस्यहरूसँग सँगै चाड मनाउछन् । यसलाई खुसी बाँड्ने पर्व मानिन्छ । यस दिन मुस्लिमहरूले शीर खुर्मा र सेमसेलीजस्ता स्वादिष्ट परिकार र उपहारहरू आदानप्रदान गर्छन्।
यसैबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्टिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका विभिन्न दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपतिले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले रमदानका अवसरमा लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पु¥याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गरेका छन् ।
यस्तै उपराष्ट्रपतिले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।






