पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्रीले नेपाल-थाइल्याण्डबीच दाैँत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।
नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको छ ।
पछिल्लो दशमा थाइल्याण्डले विकास गरेको प्रविधि, हाँसिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरुका कारण अहिले समृद्ध मुलुकमध्ये एक थाइल्याण्ड पर्दछ ।
थाइल्याण्डले सिकेका ज्ञान, सीप र हाँसिल गरेको नवीनतम् प्रविधि नेपालमा भित्र्याउन सके र थाइल्याण्डका लगानीकर्ताले नेपालमा लगानी गर्नसके नेपालले पनि छिटै समृद्धि हाँसिल गर्न सक्ने बताए ।
नेपालमा अहिले लगानीको वातावरण पनि बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरुप कानून पनि संशोधन गरेको विषयमा पनि जानकारी गराए ।
थाइल्याण्डका व्यवसायीले नेपालको शिक्षा, स्वास्थ्य, प्रविधिका विषयहरुमा लगानी गर्न इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
नेपाल-थाइल्याण्डको सम्बन्ध पर्यटनमा तुलनात्मक रुपमा राम्रो छ । थाइल्याण्ड बौद्धमार्गी देश भएकाले पनि बहुसंख्यक बौद्धमार्गी बुद्ध जन्मिएको देश नेपालको लुम्बिनी भ्रमणमा आउने गर्दछन् । यसको फरक किसिमको सद्भाव र सम्मान छ । त्यसले पनि पर्यटनबाट लगानी भित्र्याउन सकिने प्रचुर सम्भावना छ ।
थाइल्याण्डका व्यवसायीले नेपालमा लगानीका लागि कृषि र प्रविधिका विषयमा बढी जोड दिइरहेका छन् ।
नेपालमा रहेका उद्योगी छाता संगठनको निरन्तरको प्रयास र पछिल्लो समय सरकारले लगानीका लागि कानून संशोधन गरी बनाएको अनुकुल वातावरणको प्रभावले धेरै लगानीकर्ता आकर्षित हुने सरकारको विश्वास छ ।






