पोखरा — पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही पछिल्लो समय महिलाको स्वास्थ्य, सशक्तिकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने कार्यमा अग्रणी रूपमा देखा परेकी छन्। उनले महिलाहरूको हितमा अनेकौं पहल गर्दै वडा नं. १७ लाई महिला मैत्री वडा बनाउने दिशामा उल्लेखनीय कार्य गरिरहेकी छन्।
हालै सम्पन्न प्रजनन स्वास्थ्य शिविर पनि त्यही प्रयासको एउटा उदाहरण हो। महानगरपालिकाको स्वास्थ्य महाशाखासँगको समन्वयमा आयोजित शिविरमा १२१ जना महिलाको स्वास्थ्य परीक्षण गरियो। जसमध्ये ५ जनामा विभिन्न स्वास्थ्य समस्या देखिए, एक महिलाको पाठेघर झर्ने समस्या उपचार गरियो भने ३० महिलामा सर्भिक्स संक्रमण भेटिएको थियो। सबैको प्राथमिक उपचार सोही शिविरमै गरिएको थियो।
वडा अध्यक्ष शाही भन्छिन्, “महिला भनेको समाजको मेरुदण्ड हो। उनीहरूको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्था सबल नहुँदासम्म सशक्त समाज सम्भव छैन।”
शिक्षा र आत्मनिर्भरता तर्फ पनि विशेष पहल
राधिका शाहीले स्वास्थ्य क्षेत्रमा मात्र होइन, महिलाको शिक्षा र आर्थिक आत्मनिर्भरता बढाउने कार्यमा पनि विशेष ध्यान दिएकी छन्। उनका केही उल्लेखनीय पहलहरू:
सिप विकास तालिमहरू: घरेलु उद्यम, सिलाई–कटाई, बेकरी, जस्ता सीपमूलक तालिमहरू सञ्चालन गरी महिलालाई स्वरोजगारमा जोड्ने अभियान।
महिला शिक्षाको प्रवर्द्धन: महिला साक्षरता कक्षा सञ्चालन, दोस्रो अवसर शिक्षा कार्यक्रमलाई प्रोत्साहन, विद्यालय नगएका महिलाहरूलाई शिक्षामा जोड्ने प्रयास।
वडा अध्यक्ष शाही महिलाविरुद्ध हुने घरेलु हिंसा, दाइजो प्रथा, मानसिक तथा यौन दुर्व्यवहार जस्ता विषयमा स्पष्ट रूपमा उभिन्छिन्। वडामा हिंसा सम्बन्धी उजुरी आउनेबित्तिकै महिला प्रहरी डेस्क र सामाजिक अभियन्तासँग मिलेर पीडित महिलालाई न्याय दिलाउने प्रक्रियामा आफू सक्रिय रहने बताउँछिन्।
राधिका शाहीको नेतृत्वमा वडास्तरीय योजना, बजेट र निर्णय प्रक्रियामा महिला, दलित, वृद्ध, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायको सहभागिता अनिवार्य बनाइएको छ। उनका अनुसार,
“नीतिमा सहभागिता नहुँदासम्म कुनै पनि योजना प्रभावकारी हुँदैन। त्यसैले हामी सहभागी योजना बनाउँछौं।”
राधिका शाहीको नेतृत्वमा वडा नं. १७ मा महिलाको स्वास्थ्य, आत्मनिर्भरता, सम्मान र समावेशी सहभागिता सुनिश्चित गर्ने कार्यहरू उल्लेखनीय छन्।






