पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन्। बिहीबार बालुवाटारबाट १३६ औं श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताए। श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको भन्दै उनले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताए ।
वैदेशिक रोजगारमा देखापरेका चुनौति नियन्त्रण गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवालाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताए ।
प्रधानमन्त्रीले सीपमूलक तालिम, संस्कृतिको विकास र विस्तारमार्फत दिगो रोजगारीको प्रवन्ध सम्भव हुने बताए। सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको बताए।
प्रधानमन्त्रीले भने, ‘श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ । वैदेशिक रोजगारमा देखापरेका चुनौति नियन्त्रण गर्नुपर्ने भएको छ । श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवालाई जनताको घर दैलोमा पुर्याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको छ । यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु । जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ । समृद्ध नेपाल त्यति बेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ । जतिबेला श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता र देशले निरन्तरता प्राप्त गर्दछ । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास हो । जहाँ सरकार निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रुपमा काम गर्दछ ।’
प्रधानमन्त्रीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको बताए। सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको बताए ।






