पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा “जलवायु परिवर्तनको असर र यसको रोकथाम” विषयक गोष्ठी सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनले मानव समाजमा गम्भीर असर पारेको चर्चा गर्दै रोकथामका लागि उपाय अवलम्बन गर्न क्याम्पसका शिक्षक र विद्यार्थीमा चेतना अभिवृद्धिका लागि गोष्ठीको महत्व रहने बताए ।
म्पस प्रमुख कृष्णबाबु बरालले वातावरण संरक्षणमा शिक्षण संस्था र विद्यार्थीको सक्रिय सहभागिताले जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याबारे समुदायमा सचेतना पुग्ने विश्वास गर्दै शिक्षा, अनुसन्धान र सामाजिक चेतनाको अभिवृद्धिमा निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
विज्ञका रूपमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. सुवास अधिकारीले जलवायु परिवर्तनको वैज्ञानिक पृष्ठभूमि, विश्वव्यापीकरण, दक्षिण एशिया, नेपाल र गण्डकी प्रदेशको सन्दर्भमा यसको प्रभाव, असर र निवारणका उपायबारे विस्तृत जानकारी प्रस्तुत गरे । उनले भने, “जलवायु परिवर्तनको वास्तविक प्रभाव बुझ्न कम्तीमा ३० वर्षको तथ्याङ्कको विश्लेषण आवश्यक हुन्छ ।”
डा. अधिकारीले जनसंख्या वृद्धिदर, औद्योगिक विकास, हरितगृह ग्यास उत्सर्जन, बाढी, पहिरो, डुवान, अतिवृष्टि, अनावृष्टि, हिमालमा हिउँ पग्लनु, हिमनदी फुट्नु, तापक्रम वृद्धि, समुद्री सतह उकासिनु, वातावरणीय प्रतिकूलता जस्ता जलवायुसम्बन्धी असरको तथ्यपरक विश्लेषणको प्रस्तुति राख्दै न्युनीकरण गर्ने उपाय र अनुकुलित कसरी हुने भन्ने बारेमा चर्चा गरेका थिए ।
उनले पेरिस सम्झौता, जलवायु वित्त, दीगो विकास लक्ष्य, तेस्रो ध्रुवको सन्दर्भ र जलवायु परिवर्तनमा नेपालको जोखिमयुक्त अवस्था, विश्वमा चौथो स्थानमा रहेको हुँदा रोकथामका लागि सामुदायिक क्याम्पस र विद्यार्थीको भूमिका अहम हुने बताए ।
कार्यक्रममा एक सय २५ जना शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो । सहभागीका प्रश्न र जिज्ञासालाई डा. अधिकारीले सम्बोधन गरेको उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए ।






