पोखरा | पोखराभित्र गुड्ने नगर बसहरू कालो धुँवा फाल्दै गुडेको नयाँ नौलो विषय होइन । पूराना ट्रक तथा अन्य बसहरू पनि यस्तै छन् ।
शुक्रबार २१ वटा नगर बसको प्रदूषण जाँच गर्दा आधा फेल भएका छन् । यसअघि पनि यसरी जाँच गर्ने गर्दथ्यो तर कार्यान्वयन पक्ष फितलो हुँदा कालोधुँवा मुक्त पोखरा बन्न सकेको छैन ।
यातायात व्यवस्था कार्यालय, सवारी, कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा पोखराको न्युरोडमा शुक्रबार बिहान २१ वटा नगर बसको प्रदूषण जाँच गरेको हो ।
जाँच गरिएकामध्ये ११ वटा पास र १० वटा फेल भएको यातायात व्यवस्था कार्यालय, सवारी कास्की प्रमुख ढाकाप्रसाद शर्माले बताए । उनका अनुसार फेल भएका बसका चालकलाई मर्मतसम्भार गर्न र त्यतिन्जेल गाडी नचलाउन भनिएको छ । ‘उहाँहरूले चलाउन पाउनुहुन्न । मर्मत गरेर पुनः प्रदूषण जाँच गर्न कार्यालय आउनुपर्छ । पास भएपछि मात्र चलाउन पाउनुहुन्छ,’ उनले भने ।
अटेरी गरेर सवारी चलाएको पाइए २ देखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने उनले बताए । २० दिनअघि चीनबाट मेसिन ल्याइएकाले अब समयसमयमा प्रदूषण जाँच गरिने उनको भनाइ छ ।
गत साता पनि कार्यालयले पोखराका १० वटा नगर बसको प्रदूषण जाँच गरेको थियो । त्यसमा ६ वटा फेल भएका थिए । ती ६ वटै सवारी मर्मतपछि कार्यालयमा परीक्षणका लागि आएकोमा पास भएको प्रमुख शर्माले सुनाए ।
पोखराका नगर बसले धुवाँ फाल्दा बाहिर हिँड्नै मुस्किल भएको भन्दै केही दिनदेखि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । त्यसपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाशबहादुर केसीले सवारीको प्रदूषण जाँच गर्न मन्त्रालयमार्फत कार्यालयलाई निर्देशन दिएका थिए । मन्त्री केसी शुक्रबार बिहान प्रदूषण जाँचको निरीक्षण गर्न पुगेका थिए ।
प्रदूषण जाँच गर्दा धूवाँको घनत्व एक सय प्रतिशत मेजर्ड हार्ट्रिज स्मोक युनिट (एचएसयू) लाई आधार मानिन्छ । एचएसयू जति बढी हुन्छ त्यो सवारीको धुवाँ त्यति नै बढी प्रदूषित रहेको मानिने कार्यालयका मेकानिकल सुपरभाइजर सुमन शर्माले बताए । डिजेल गाडीको हकमा नेपालमा ६५ भन्दा कम एचएसयू भएका सवारी प्रदूषण जाँचमा पास र ६५ भन्दा बढी हुने सवारी फेल मानिने उनले सुनाए ।






