पोखरा । पोखरा महानगरपालिका वडा नं १ लामपाटनस्थित अभियान महिला समूहले आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सकिएको छ ।
समूहमा आबद्ध सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यसहित ‘सिप सिकौँ र आत्मनिर्भर बनाैँ’ भन्ने नाराका साथ तालिम आयोजना गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं १ कार्यालयको सहयोगमा आइतबार शुरु भएको तालिम मंगलबार सकिएको थियो ।
तालिममा समूहमा आवद्ध ४० जना सदस्य सहभागी भएको समूहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिइन् ।
तालिम पछि सिकेका कुराहरु व्यवहारमा उतार्ने गरी आफूहरुले काम गर्ने रिमालले बताइन् । तालिममा सहभागीलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी थिइन् ।
तालिम समापनमा वडाध्यक्ष सहारा प्रधानले वडाले पहिलोपटक यस्तो तालिम संचालन गरेको बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।
उनले वडामा यो नयाँ तालिम भएकाले तालिम पछि यसलाई व्यापारिक प्रयोजनका लागि उत्पादन गरी व्यवसायसँगै आत्मनिर्भर बन्न आग्रह गरे ।
वडासदस्य शोभा गुरुङले तालिम पछि अब आफैले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरी बेच्न आग्रह गरिन् । यी दैनिक आवश्यकताका सामग्री रहेकाले यसको बजारसमेत राम्रो रहेको उनको भनाई छ ।
प्रशिक्षार्थी नीता पोखरेल र निर्मला तिवारीले आफ्नो दैनिक जीवनमा उत्पादन हुने वस्तु रहेकाले अब घरमै यसको उत्पादन गर्ने बताएका थिए । आफूहरुले हालसम्म लिएकामध्ये यो तालिम अत्यन्तै व्यवहारिक र आवश्यक रहेको उनीहरुको प्रतिक्रिया थियो ।






