पोखरा । पोखरा महानगरपालिका वडा नं ७ ले वडाका ५० जना कृषकलाई कम्पोष्ट मल प्रदान गरेको छ ।
वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमका बीच वडाध्यक्ष राममोहन आचार्यसहित वडासदस्यहरुले ५० जना कृषकलाई ३० किलोका दरले कम्पोष्ट मल वितरण गरेका हुन् । मल ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडासचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
साथै वडालाई सफा र वातावरणमैत्री बनाउन विभिन्न टोलमा राख्ने गरी ५० वटा डष्टविनसमेत वितरण गरिएको उनले बताए ।
उक्त अवसरमा वडाध्यक्ष आचार्यले कृषिको विकास बिना कुनै पनि विकास असम्भव भएको भन्दै वडा कार्यालय सधैं कृषककै साथमा रहेको बताए ।
वडाका धेरै परिवार खेती किसानीमै निर्भर रहेको भन्दै उनले कृषकको उत्पादन शक्ति बढाउन र माटोको उर्वराशक्ति जोगाउन अनुदानमा कम्पोष्ट मल वितरण गरिएको उनले बताए ।
अध्यक्ष आचार्यले भने, ‘रासायनिक मलको विकल्पका रूपमा यो जैविक मलले दीर्घकालीन फाइदा पुर्याउँछ, कृषकलाई आत्मनिर्भर बनाउँदै स्वदेशी मलको प्रवर्द्धन गर्नु आजको आवश्यकता हो, वडा कार्यालयले आगामी दिनमा अझ धेरै कृषिमैत्री कार्यक्रम ल्याउन प्रयत्न गर्छ ।’
कृषि सञ्जालका अध्यक्ष पञ्कज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य अर्जुनबहादुर भुजेल, पोखरा महानगरपालिकाको आर्थिक महाशाखाका वागवानी अधिकृत दामोदर अधिकारी, वडासचिव राजेन्द्र पौडेललगायतले बोलेका थिए ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, कृषकसहित वडावासीको उल्लेखनीय सहभागिता रहेको थियो ।






