पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई एकल महुमत ल्याउन गाह्रो हुने धारणा राख्नुभएको छ ।
नेपाली काँग्रेस चितवनले शुक्रवार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले यस्तो धारणा राख्नुभएको हो ।
संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनैपनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उहाँको भनाइ छ ।
उहाँले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराईदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरुरी रहेको समेत बताउनु भयो ।
काँग्रेसकै कारण प्रधानमन्त्री र सभापति हुन पाएको उल्लेख गर्दै उहाँले पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अरु सोच नरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । सबै जातिहरुको प्रतिनिधत्व भएको छ संविधानमा । तर कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । एक्लै कुनैपनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ । फेरी हाम्रो पार्टीमा रोग पनि रहेको छ । टिकट त एकजनाले मात्रै पाउँछ नि । नपाउनेले निर्वाचनमा हराईहाल्छ । त्यसकारण पार्टीभित्रको यो रोग पनि हटाउन आवश्यक रहेको छ । मेरो त उमेर भइसकेको छ । तर यही पार्टीको कारणले सभापति र प्रधानमन्त्री भएँ । त्यसैले पनि यो पार्टीलाई बलियो र राम्रो बनाउने मेरो उद्देश्य छ । मैले अघि नै भनिसके हाम्रो संविधान समावेशी र समानुपातिक छ तर कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने आवश्यकता छ ।’
संविधानको रक्षा गर्दै एकल बहुमत ल्याउनसक्ने गरी सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ ।






