पोखरा ।सबलाइम अङ्ग्रेजी माविको आयोजनामा भएको प्रथम सबलाइम कप सेभेन ए साइड फूटबल प्रतियोगिताको उपाधि रेन्बो एकेडेमीले जितेको छ । शनिबार भएको फाइनल खेलमा प्रगति माविलाई २१ गोलले हराउँदै रेन्बो एकेडेमी ले उपाधि जितेको हो ।प्रथम भएको रेन्बो एकेडेमीले नगद रु २० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता प्रगतिले १५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बाल कल्याणका प्रीन्स गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै रेन्बो एकेडेमीका निर्जल कुँवर वेस्ट गोलकिपर, रोनल थापा हाइएस्ट गोल स्कोरर, प्रविण छन्त्याल वेस्ट मिडफिल्डर र प्रगति स्कुलका सुविन खत्री बेस्ट स्ट्राइकर घोषित भए । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।
कक्षा १२ सम्म पढाई हुने सबलाइम अङ्ग्रेजी माविमा कक्षा १० सम्म ६६ जना र दश जोड दुईतर्फ १९ जना शिक्षकहरू छन् । २०५२ सालमा स्थापित यस विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आएको छ भने हाल १५ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले पढाईका अलावा खेलकुदमा पनि विद्यार्थीहरूलाई सक्रिय सहभागी गराउँदै आएको प्राचार्य पुष्पराज पराजुली बताउँछन् । यस विद्यालयका विद्यार्थीहरूले प्याब्सनले आयोजना गर्ने भलिबल, फुटबल लगायत खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए ।
विद्यालयले अब माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता गर्ने बारे छलफल भइरहेको उनले बताए । सेभेन ए साइड फूटबल प्रतियोगिता प्रदेश प्रहरी कार्यालय गण्डकीको खेल मैदानमा भएको थियो ।






