चिलीको दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेदवार जोसे एन्टोनियो कास्ट राष्ट्रपति निर्वाचनको दोस्रो चरण (रनअफ) मा ठूलो मतान्तरले जित हासिल गर्दै चिलीको नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । घोषित परिणामअनुसार कास्टले ५८.१८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । सत्तारुढ वामपन्थी गठबन्धनकी उम्मेदवार जेनेट जाराले ४१.८२ प्रतिशत मत मात्र पाउनुभयो । चिलीको निर्वाचन सेवाकाअनुसार ९९.३३ प्रतिशत मत गणना हुँदा कास्टको जित स्पष्ट भएको हो । जाराले सामाजिक सञ्जालमार्फत पराजय स्वीकार गर्दै कास्टलाई बधाई दिनुभएको छ । वर्तमान राष्ट्रपति गाब्रियल बोरिकले पनि कास्टलाई जितको बधाई दिनुभयो । ५९ वर्षीय कास्ट मार्च ११, २०२६ मा पदबहाली गर्नुहुनेछ । चुनावी अभियानमा उहाँले सार्वजनिक सुरक्षा र आपराधिक समूहहरूमाथि कडा कारबाही गर्ने नीतिलाई जोड दिनुभयो । उहाँले उच्च सुरक्षा कारागार निर्माण गर्ने र अपराधीहरूलाई कडा सजाय दिने प्रतिवद्धता गर्नुभयो ।






