धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो । यो अघिल्लो वर्षको तुलनामा कम हो । बजारमा देखिएको उत्तारचढावले पुँजीकरणमा समेत असर पारेको हो । गत वर्षको कात्तिक मसान्तमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रहेको थियो । ०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा गत कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ । चालु आ.व.को कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत कम्पनीहरूको संख्या २८३ पुगेको छ । सूचिकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको कार्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।






