नेपाल र भारतबीच पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दोस्रो इण्डिया नेपाल टुरिजम मिट सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदुतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा भएको यो कार्यक्रम विशेष गरी उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदम भएको बताउनु भयो । उहाँले यो सहकार्यले दुवै देशका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।






