नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन-जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ । मंगलवार नेपाली काँग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जेन-जी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भन्नुभएको उल्लेख गर्नुहुँदै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताउनु भयो । निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाउनु भयो ।






