अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उहाँको भनाइ छ । उहाँले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र इकोसिस्टमले लय गुमाएको समेत बताउनु भयो ।






