पोखरा ।
पोखराको न्यू ग्यालेक्सी उच्च माध्यमिक विद्यालयमा आयोजित एक अभिभावक कार्यशालामा बालबालिकाको सर्वांगीण विकासका लागि ‘डिजिटल उपस्थिति र भौतिक उपस्थिति’ बीचको सन्तुलन कायम गर्ने विषयमा विशेष जोड दिइएको छ ।
सिबिएल ग्रुपको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा पिजी ३ कक्षाका अभिभावकहरुले प्रविधिको बढ्दो प्रयोग र बालबालिकालाई दिइने प्रत्यक्ष समयका बीच कसरी तालमेल मिलाउने भन्ने विषयमा गहन छलफल गरे । प्रविधिको युगमा बालबालिकालाई ग्याजेटबाट टाढा राख्न चुनौतीपूर्ण भइरहेका बेला यस्तो सन्तुलनले उनीहरुको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
कार्यशालामा प्रशिक्षक शर्मिला रेग्मीले बालबालिकाको सिकाइ प्रक्रिया र व्यवहारिक गतिविधिबारे प्रकाश पारिन् । उनले अभिभावकले घरमै अपनाउन सक्ने प्रभावकारी उपायबारे जानकारी दिँदै भनिन्, बालबालिकाले विद्यालयमा भन्दा घरमा धेरै समय बिताउने भएकाले अभिभावकको व्यवहार र घरको वातावरणले उनीहरुको सिकाइमा प्रत्यक्ष असर पार्छ । रेग्मीले बालबालिकाको रुचिअनुसारका गतिविधिमा उनीहरुलाई संलग्न गराउन सके सिकाइ अझ प्रभावकारी हुने कुरामा जोड दिइन् । कार्यक्रममा सिबिएल पोखरा शाखाकी शाखा संयोजक रेखा श्रेष्ठले कार्यशालाको उद्देश्य र यसको संरचनाबारे प्रस्ट पारेकी थिइन् । अभिभावक र विद्यालयबीचको सहकार्यले मात्र विद्यार्थीको भविष्य उज्ज्वल हुने उनको भनाइ थियो । प्राथमिक इन्चार्ज आचल बाजिमायाले स्वागत मन्तव्य राख्दै अभिभावकको सक्रियताको प्रशंसा गरिन् । उनले भनिन्, अभिभावक र विद्यालय एकै सिक्काका दुई पाटा हुन्, दुवैको उत्तिकै सक्रियताले मात्र बालबालिकाको चौतर्फी विकास सम्भव छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल र निर्देशकले अभिभावकहरुसँग प्रत्यक्ष संवाद गर्दै विद्यालयका योजना र बालबालिकाको अवस्थाबारे जानकारी लिएका थिए । प्रिन्सिपलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यशालाको समापन गरे । सिबिएल ग्रुपका प्रतिनिधिहरु समेत सहभागी रहेको अभिभावकहरुले पनि यस्ता कार्यक्रमले बालबालिकाको मनोविज्ञान बुझ्न र उनीहरुलाई सही दिशा दिन मद्दत पुग्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले गरेका थिए । कार्यशालामा सहभागी अन्य अतिथिहरुले पनि बालबालिकाको सिकाइलाई डिजिटल माध्यमभन्दा भौतिक र व्यवहारिक क्रियाकलापमा बढी केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।
Advertisement






